नवलपरासी पश्चिमको एक विद्यालयका प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका– ५ स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्याकपसहित तीनजनाविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ । प्रधानाध्यापक रेशमराज कण्डेल, विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारविरुद्ध अख्तियार दुरुपयोग आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारलाई ६५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रधानाध्यापकको समेत मिलेमतो देखिएपछि उनलाई पनि प्रतिवादी बनाइएको छ । भवन निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि उनीहरूले घुस लिएका थिए ।