नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाण्डौँ - नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो एक विज्ञप्ति निकालेर निर्धारित तालिका अनुसार आज दशरथ रङ्गशालामा प्रशिक्षण हुने र त्यसपछिको प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।

भारतमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि हिजोदेखि प्रशिक्षण सुरु भएको थियो । तर, शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० वटा क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलवार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । साफ च्याम्पियनसिप आउँदो असार ६ गतेदेखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ । साफको तयारीका लागि नेपालले जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।