आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै गएको बिहीवार कोशी प्रदेशमा आइपुगेको मनसुन अब केही दिन अघि नबढ्ने देखिएको छ ।अबको तीन दिनसम्म मनसुन अघि बढ्ने सम्भावना कम देखिएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभाव पनि घटेर मनसुन कोशी प्रदेशमै स्थिर रहने देखिन्छ । मनसुन भित्रिएकै दिन कोशी प्रदेशमा ठूलो पानी पर्दा सडक, जलविद्युतलगायतका संरचनामा क्षति पुगेको थियो ।