शेयर बजार ४७ अङ्कले बढेर २१ सय विन्दुमा, साढे ४ अर्ब रुपैयाँकाे काराेबार

 शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ४७ दशमलव ०४ अङ्कले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ । सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको हो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज हिमालयन डिस्टिलरी कम्पनीको शेयर साढे ८ प्रतिशतले बढेको छ । उच्च अङ्कले बजार बढेको दिन उपकार लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ३ अर्बको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि आज दुई पटक सकारात्मक सर्किट ब्रेक लागेर कारोबार केही समयका लागि रोकिएको थियो ।