माओवादी केन्द्रीय समिति बैठकमा पार्टी एकताबारे छलफल हुने

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आसन्न केन्द्रीय समिति बैठकमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग एकता गर्ने विषयमा छलफल हुने भएको छ । 

पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा  यसअघि डा। भट्टराईले पठाएको नौ बुँदे एकता प्रस्ताव पनि  समेटिएपछि एकताबारे छलफल हुने भएको हो । बैठक बुधबार बिहान प्रज्ञाप्रतिष्ठान कमलादीमा हुँदै छ । बैठकमा प्रस्तुत हुने प्रतिवेदन अध्यक्षको निर्देशनमा उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्नि सापकोटा र उपमहासचिव वर्षमान पुनले राजनीतिक प्रतिवेदनको मस्यौदा तयार पार्नुभएको बताइएको छ । त्यस्तै पार्टी महासचिव देव गुरुङ र अर्का उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले साङ्गठनिक प्रतिवेदनको मस्यौदा तयार पारेका छन् । उक्त मस्यौदालाई अध्यक्ष प्रचण्डले अन्तिम रूप दिएर बैठकमा पेस गर्ने भनिएको छ ।

साङ्गठनिक प्रतिवेदनमा जनवर्गीय सङ्गठन, विभाग र केन्द्रीय समितिको आकार भद्दा भएको भन्दै व्यवस्थित गर्ने भनिएको छ । पाँच दिनसम्म चल्ने बैठकको सुरुवातमा बुधबार बिहान महासचिवले बैठकका एजेन्डा प्रस्तुत गर्नुहुने छ भने अध्यक्षले राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।