नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ। केन्द्रीय समिति बैठकअघि बुधबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी स्थायी कमिटी बैठकले समावेशिताको सुनिश्चितताका लागि विधान संशोधन गर्दै केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीमा केही विधान विपरित भएकाले संशोधन गर्न लागिएको र थप केही महिला, समावेशी, केही युवा तथा छुटेका सिनियर नेताहरुलाई केन्द्रीय समितिमा ल्याउने जानकारी दिए। त्यस्तै स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय समेत गरेको उनले बताए।