नेशनल पेमेण्ट गेटवेको लागि सफ्टवेयर खरिदमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका बहालवाला सचिव मधु कुमार मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन निर्देशक सहितको मिलेमतोमा राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला उद्योग मन्तालयका सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मासहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालद्धारा जारी गरिएको प्रेश विज्ञप्तिमा जनाएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) का तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्ष अघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवे (NPG) अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएर रु.२५ करोडमा खरिद गरी गराई नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानी नोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्ट्राचार भएको देखिएको जनाएको छ ।

 

शर्मा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव पनि हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपसचिव तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेललाई पनि प्रतिवादी बनाइएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध पनि अभियोग दायर भएको छ । मरासिनी हाल उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुन् ।