दुई असोसिएट राष्ट्रबीचको 'हेभिवेट भिडन्त' मा नेपाललाई पराजित गर्दै ओमान टी-२० विश्वकप एसिया छनोटमा समूह 'ए'को विजेता बनेको छ भने नेपाल उपविजेतामै सीमित भएको छ। अब नेपालले पनि सेमिफाइनल खेल्नेछ र फाइनल पुग्ने सम्भावना जीवितै छ।
कीर्तिपुर क्रिकेट मैदानमा बिहान सुरु भएको खेलमा थुप्रै नाटकीय मोडहरू देखिए। दुबै टोलीका खेलाडीहरुले गरेका 'मिस फिल्ड' हरू, 'ड्रप क्याच' र केही उत्कृष्ट ब्याटिङ तथा बलिङ नमुनाले खेलको रोमाञ्च थपिएको थियो। टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले ओमानलाई १४५ रनमा रोकेको थियो। जबाफमा नेपालले १४० रन मात्र बनायो।
त्यसपछि सोमपाल कामीले आफ्नो जादु देखाए। उनले चौथो ओभरको पहिलो बलमा खतरनाक ब्याटर अकिव इलियासलाई बोल्ड गरिदिएका थिए। तर सोही ओभरमा ओमानका प्रतीक अथाभालेले दुई पटक जीवनदान पाए। तेस्रो बलमा प्रतीकले गरेको प्रहार मिड अनमा कप्तान रोहित पौडेलको हातमा पुगेर फुत्किन पुग्यो। त्यो मुस्किलको क्याच अवसर थियो।
ओभरको अन्तिम बलमा प्रतीक फेरि जोगिए। यति बेला लङ अनमा प्रतीश जिसीले उनको सजिलो क्याच फुत्काउन पुगेका थिए।पाँचौ ओभरमा भने गुलशन झाको बलमा रोहितले प्रतीकको क्याच छोडेनन्। त्यसपछि कप्तान जिशन मकसुदले ओमानको इनिङ्स उकास्दै तीन छक्का प्रहार गरेर ३२ रन बनाए।
चौधौँ ओभरको पहिलो दुई बलमा सन्दीप लामिछानेले आयान खान र मेहरन खानको विकेट लिँदै नेपाललाई खेलमा फर्काएका थिए।यद्यपि नसिम खुशी (२५ रन) र सकिल अहमद (२२ रन)ले रन जोड्दै ओमानको स्कोरबोर्डमा रन थपिदिए। करणले सकिल र कलिमुल्लाहको विकेट लिएर कुल तीन विकेट लिए। सोमपाल र सन्दीपले २/२ विकेट लिए।