१ करोडभन्दा बढी घुस लिएको आरोप लागेका उदयबहादुर पराजुली पुर्पक्षका लागि कारागार चलान

मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको स्याङ्जामा शाखा विस्तार अनुमति दिँदा घुस लिएको आरोप लागेका उदयबहादुर पराजुली पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत कास्कीमा मंगलबार भएको थुनछेक बहसमा अदालतले पराजुलीसहित सहकारीका चार जनालाई थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार रूद्रप्रसाद अर्यालले जानकारी दिए।

पराजुली सहकारी डिभिजन कार्यालय गण्डकीका प्रमुख भएका बेला सहकारीको शाखा विस्तार गर्दा १ करोड रूपैयाँभन्दा बढी घुस लिएको सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीले बयान दिएका थिए। सोही बयानका अधारमा छानबिन गर्न प्रहरीले पराजुलीलाई हिरासतमा लिएको थियो।

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका पराजुलीसहित सहकारीका सञ्चालकहरू गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। 

पोखरामा प्रधान कार्यालय रहेको मित्रमिलन सहकारीमा सर्वसाधारणले बचत राखेको २६ करोड रूपैयाँ अपचलन गरेको आरोप छ। सहकारीको बचत अपचलनमा जिल्ला सरकारी वकिलको कार्यालयले ३३ जना विरूद्ध मुद्दा दायर गरे पनि २७ जना अझै फरार छन्।