कसरी रहने सधैं स्वस्थ ?

काठमाण्डौँ - अव्यवस्थित जीवनशैली, खानपान, प्रदूषण आदिका कारणले हामीले चाहेर पनि आफूलाई स्वस्थ राख्न असमर्थ भइरहेका हुन्छौं । यसबाहेक तनावपूर्ण जीवनशैलीले पनि हामीलाई स्वस्थ भइरहन दिँदैन । यसका साथै शारीरिक परिश्रमको कमी, व्यायामको कमी, अनियन्त्रित धुम्रपान तथा मद्यपान, अव्यवस्थित खान जस्ता कुराहरुले हामीलाई उमेरभन्दा अगाडि नै अस्वस्थ बनाइरहेको हुन्छ ।

स्वस्थ खानपान

हामीले आफूलाई स्वस्थ राख्ने कि नराख्ने भन्ने कुरा हामीले खाने खानाबाट तय हुन्छ । स्वस्थ खानपानले नै हामीलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । स्वस्थ खानपिन भन्नाले डाइटिङ गर्नु अथवा कम खानु भन्ने होइन । स्वस्थ खानपिको अर्थ हो पोषणले भरिपूर्ण सन्तुलित खानपिन ।

हामीले प्रत्येक दिन खाने खानामा हरिया सागसब्जी, फलफूल, रेसादार खाना, झोलयुक्त खाना भन्ने बुझिन्छ । हामीले आफूलाई स्वस्थ राख्नका लागि हरेक दिन चार(पाँच पटक फलफूलको सेवन गर्नैपर्छ । यसबाहेक खानामा सागसब्जीको मात्रा बढी हुुनुपर्छ । बिहान ब्रेकफास्ट गर्न भुल्नु हुँदैन । बिहानको ब्रेकफास्टले हरेक व्यक्तिलाई आवश्यक उर्जा तथा शरीरका लागि आवश्यक शक्ति प्रदान गर्छ ।

सधैं सक्रिय जीवन

निष्कृय भएर घरमै बसिरहनुभयो भने तपाईंं स्वतः अस्वस्थ हुनुहुनेछ । त्यसैले सकेसम्म हरेक दिन हल्का(फुल्का भएपनि व्यायाम गर्नुपर्छ । शारीरिक व्यायामले तपाईंंको मुटुमात्र होइन शरीरका अन्य अंगहरु समेत मजबुत हुनेछन् । व्यायाम भन्नाले तपाईंंले जिमखानामा गएर पसिना नै बगाउनुपर्छ भन्ने छैन । सामान्य हिँडडुल, पौडी, साइक्लिङ, एरोबिक्स, नृत्य आदिले पनि ब्यायाम हुनसक्छ । यी क्रियाकपालहरु गर्न भ्याउनुभएन भने कम्तिमा आधा घण्टा मज्जाले हिँड्नु भयो भने पनि तपाईंंको शरीर स्वस्थ राख्न पर्याप्त हुन्छ ।

पानी जिन्दगानी

हाम्रो शरीरमा सधैं पानीको मात्र सन्तुलित भइरहनुपर्छ । शरीरमा पानीको मात्रालाई सन्तुलित बनाइराख्न अत्यधिक मात्रामा पानी पिउनुपर्छ । त्यसका लागि हामीले हरेक दिन कम्तिमा चार लिटर पानी पिउनैपर्छ । यो मात्रामा पानी पिउनु भयो भने मात्र तपाईंंले आफूलाई स्वस्थ राख्न सक्नुहुनेछ ।

गहिरो निद्रा

व्यस्तताले भरिएको जीवनमा हामी राति सुत्न समेत कम गरेका छौं । यद्यपि, स्वस्थ जीवनका लागि पूर्ण अथवा गहिरो निन्द्रा अति नै अनिवार्य छ । मस्त निदाउनाले हामी आफैं स्वस्थ बन्न सक्छौं । राम्ररी निदाउनुका आफ्नै फाइदाहरु पनि छन् । यसबाहेक हामी भित्रको डर तथा शंका(उपशंकाहरु समेत हराएर जान्छन् । त्यसैले हामीले हरेक दिन कम्तिमा ७ देखि ८ घण्टासम्म सुत्नैपर्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरुले त हरेक दिन दश घण्टा सुतेकै हुनुपर्छ ।

नुनको सीमित प्रयोग

नुन शरीरका लागि अति आवश्यक पदार्थ हो । यद्यपि आवश्यता भन्दा बढी नुनको सेवन असाध्यै हानिकारक समेत हुन्छ । हाम्रा शरीरको रक्तचापलाई नियन्त्रणमा राख्नका लागि नुनको प्रयोग गर्ने सीमालाई हरेक दिन छ ग्राममा सीमित पार्नुपर्छ । उच्च रक्तचापबाट पीडित भएकाहरुले त यो उपाय अपनाउनै पर्ने चिकित्सकहरुले बताइसकेका छन् । स्वस्थ मानिसले सकेसम्म कमै मात्रामा नुन प्रयोग गरेको राम्रो हुन्छ ।