पोखरामा आज र भोलि श्रमाधान रोजगार मेला, जनकपुरमा भएको मेलामा दुई हजार बढीको आवेदन

गण्डकी प्रदेशको पोखरामा आज र भोलि श्रमाधान रोजगार मेला हुँदैछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा मेला हुन लागेको हो ।

रोजगारदाता र रोजगारी खोज्नेहरुबीच प्रत्यक्ष भेट गराउने तथा रोजगारी सृजनाको वातावरण उपलब्ध गराउने उदेश्यसहित गएको १७ गतेदेखि विराटनगरबाट श्रमाधान रोजगार मेला शुरु भएको हो । सातै प्रदेशमा दुई, दुई दिन हुने मेला यसअघि विराटनगर र जनकपुरमा भइसकेको छ ।

आज र भोलि पोखरामा हुन लागेको हो । मेलामा श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम हुनेछन् । यस्तै सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानुन र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया हुनेछ ।

त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् । मेलामा श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी लगायतको स्टल रहनेछन् ।

यसैबीच मधेश प्रदेशमा भएको श्रमाधान रोजगार मेलामा दुई हजारभन्दा बढी युवाले रोजगारीका लागि आवेदन दिएका छन् । हिजो र अस्ति जनकपुरमा भएको मेलामा छ हजारभन्दा बढीले अवलोकन गरेका थिए । आवेदन दिएकामध्ये पहिलो चरणमा रोजगारीका लागि होटलतर्फ एक सय पाँच जना, अटोमोबाइल क्षेत्रका लागि ३५ र बैंकमा २७ र सुरक्षा गार्डका लागि  ८० जना गरी जम्मा दुई सय ४७ जनालाई अन्तर्वार्ताको लागि आमन्त्रण गरिएको छ ।