कृष्णबहादुर महराले भने-'सुन तस्करी प्रकरणमा मेरो संलग्नता छैन'

काठमाडौँ - पूर्वसभामुख तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

सुन तस्करीमा जोडिएका पूर्वसभामुख महरा र उनका छोरा राहुलमाथि अनुसन्धान हुनुपर्ने आवाज उठिरहेको बेला उनले आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन् । बिहीबार बिहान फेसबुकमा लेख्दै कृष्णबहादुरले सुन प्रकरणमा आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने समेत बताएका छन् ।

‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आईरहेको विषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु ।’ महराले भनेका छन्, ‘जहाँ सम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’