पानी जहाजमा जागिर लगाइदिने भन्दै २ सय युवाबाट ४ करोड ठगी

पानी जहाजमा जागिर लगाइदिने भन्दै एक गिरोहले युवाहरूलाई ठगिएको छ । उक्त गिरोहले कैलाली र बर्दियाका झण्डै २ सय जना युवाहरूबाट करिब ४ करोड रुपैयाँ ठगेको पाइएको छ। गिरोहमा बर्दिया राजापुर नगरपालिका वडा नं. ५ पहाडीपुरका ३६ वर्षका हिमांशु चौधरी र कैलाली जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी रहेका छन् । उनीहरुले युवाहरूलाई सम्पर्कमा ल्याउन गाउँ गाउँमा एजेन्ट समेत राखेको पाइएको छ ।

युवाहरुले गिरोहलाई दुईदेखि पाँच लाखसम्म तिरेको बताएका छन् । उनीहरु मध्ये कसैले नगद र कसैले बैंक चेक मार्फत गिरोहलाई रकम बुझाएका हुन । गिरोहले युवाहरूलाई रोयल केरिभ्यान संस्थाको पानी जहाजमा जागिर लगाइदिने आश्वासन दिएका थिए । यसै क्रममा युवाहरूलाई भारतको लखनउ घुम्तिनगरस्थित समुद्री ज्ञान मारिन एकेडेमीमा पानी जहाज सम्बन्धी प्रशिक्षण दिएको थियो ।

उनीहरुलाई डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा सम्बन्धी तालिम दिइएको थियो । पहिलो चरणको तालिम पश्चात् युवाहरूलाई घर पठाइएको थियो । उनीहरुलाई २०८१ दसैँ अघि दोस्रो चरणको दुई महिने थप तालिम दिइएको थियो । युवाहरूलाई पहिलो चरणमा पानीबाट आफू र यात्रुलाई कसरी जोगाउने र दोस्रो चरणमा अंग्रेजी बोलीचालीका बारेमा सिकाइएको थियो । गिरोहले दुई चरणको तालिम पश्चात् युवाहरूलाई २० दिन भित्र जागिरमा पठाउने आश्वासन दियो । 

युवाहरू जागिरमा जानु भन्दा पहिले घर परिवार भेट्न भन्दै घर फर्किए । घर फर्केको चार महिना बितिसक्दा समेत जागिरको ठेगान नभए पछि उनीहरुले गिरोहको खोजीमा निस्किए । युवाहरुले गिरोहका नाईके हिमांश चौधरीलाई बर्दियाको राजापुरबाट समाते । जागिरको सुनिश्चितता नभएपछि नाईके चौधरीले सबै युवाहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाको चेक थमाए । युवाहरू चेक बोकेर बैंक तथा वित्तीय संस्थामा पुगेपछि चेक साटिएन । चेक नसाटिएपछि युवाहरुले ठगिएको चाल पाए ।

ठगिने मध्ये जानकी गाउँपालिका वडा नं. ८ भगरैयाका शंकर चौधरीका अनुसार हिमांशु चौधरी सम्पर्क बिहिन भएका छन् भने अर्का मनोज चौधरी भारतको मुम्बई पुगेका छन् । गिरोहले यसै गरी पानी जहाजमा जागिर लगाइदिने भन्दै तालिम पश्चात् भारतको मुम्बई पुर्याएका थप ३० मध्ये २१ जना समेत घर फर्किएका छन् । घर फर्किन नसकेका नौ जनाले समेत अहिलेसम्म जागिर पाउन नसकेको पीडित मध्येका जानकी गाउँपालिका वडा नं. १ तोरैयापुरका अनुराग थारुले जानकारी दिए ।

‘मुम्बई पुगेकाहरूले समेत जागिर पाएका छैनन्’ उनले भने–‘धेरैजसो युवाहरू फर्किसकेका छन् र अरु पनि फर्किने क्रममा छन् ।’ गिरोहले युवाहरूलाई मासिक करिब डेढ लाख आम्दानी हुने आश्वासन दिएको पाइएको छ । राम्रो कमाई हुने देखिएपछि युवाहरू गिरोहको चंगुलमा फसेका हुन । उनीहरु मध्ये कतिपयले स्वदेशमै गरिरहेको सानोतिनो जागिर समेत छोडेर गएका थिए ।

जागिर पाउने प्रलोभनमा परेर युवाहरुले विभिन्न वित्तीय संस्था र सहकारीबाट ऋण लगेर गिरोहलाई बुझाएका थिए । अहिले युवाहरूलाई ऋणको सावा ब्याज तिर्न निकै कठिनाइ भइरहेको पीडित मध्येकै एक जानकी गाउँपालिका वडा नं. ८ भगरैयाका विष्णु चौधरीले बताए । उनका अनुसार जागिरको प्रलोभनले भएको सम्पत्ति लिलाम हुने अवस्थामा पुगेको छ । ‘ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ’ उनले भने–‘प्रलोभनमा परेर दुःख पाइयो ।’

यतिबेला गिरोहको प्रलोभनमा परेर ठगिएका युवाहरू न्यायका लागि भौँतारिरहेका छन् । उनीहरुले बर्दियाको इलाका प्रहरी कार्यालय राजापुर र कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिन खोजे पनि प्रहरीले उजुरी लिन मानेन । प्रहरीले उजुरी लिन नमाने पछि उनीहरु प्रशासन कार्यालय पुगेका छन् । इलाका प्रशासन कार्यालय टीकापुरले न्यायका लागि श्रम विभागमा जान सुझाव दिएपछि उनीहरु झन तनावमा परेका छन् ।

‘एकातिर ऋण तिर्न सकिएको छैन । अर्कोतिर थप ऋण खोजेर श्रम विभाग पुग्नुपर्ने बाध्यता आइलागेको छ’ पीडित मध्येका एक शंकर चौधरीले भने–‘ठगिएको पैसा असुल्न ऋण माथि ऋण थप्नुपर्ने अवस्था आइलागेको छ ।’ बेरोजगारी समस्याले गाउँघरमा थ्रुपै युवाहरू यसरी नै ठगिएका छन् । आर्थिक अवस्थाले थिचिएका युवाहरू यस्ता गिरोहको चंगुलमा फसेर थप समस्यामा परेका छन् । गाउँघरमा युवाहरूलाई विभिन्न बहानामा ठग्ने यस्ता गिरोहको संख्या अझै धेरै हुनसक्छ।