मन्त्री मोदीले भने-'सिंहदरबारमा बसेका कर्मचारीलाई अब अन्यत्र पठाइन्छ' 

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छन् । 

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यथाशीघ्र मन्त्रिपरिषद्मा लैजाने बताए । 
मधेस प्रदेशका स्थानीय तहमा निमित्तबाट चलाउने कार्य शून्यमा झारिएको जानकारी दिँदै उनले सिंहदरबारलाई लामो समयदेखि अखडा बनाएर बसेका केही कर्मचारीको सरुवा र जिम्मेवारी पनि ज्येष्ठता तथा क्षमताका आधारमा अन्यत्र हुने स्पष्ट गरे ।