यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाही भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण राई र रामबहादुर थापाको इजलासले लाइसेन्स परीक्षा समितिको अध्यक्ष रहेका शाहीलाई एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको हो ।
विशेष अदालतले परीक्षाको परिणाम फेरबदल गरेको कसुरमा उनलाई थप १० महिना कैद र आठ हजार जरिवाना सजाय हुने फैसला गरेको छ । परीक्षामा सहभागी भएकाहरूलाई फेल गरेर परीक्षामा सहभागी नै नभएका ३९ जनालाई प्रयोगात्मक परीक्षामा पास गराइएको थियो । यस्तै, २३ जनाको प्राप्तांक ‘रिराइट/ओभरराइट’ गरी २३ जनालाई परीक्षामा उत्तीर्ण गराएको तथा अनुत्तीर्ण भएका २२१ सहित २८३ जनाको परीक्षार्थीको नतिजा फेरबदल गरी स्वीकृत गरेर सफ्टवेर प्रणालीमा प्रविष्ट गराएका थिए ।
अख्तियारले शाहीसँगै पवनकुमार रावल र नरेन्द्रकुमार कडरियालाई पनि प्रतिवादी बनाएकोमा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको छ ।