बैंकमा पैसा थुप्रियो, कहिले बढ्ला कर्जा ?

काठमाडौँ - अर्थतन्त्रमा आएको सुस्तताको असर सामना गर्नुपर्दा वाकड क्षेत्रमा पैसाको थुप्रो लागेको छ । पछिल्लो समय बजारमा कर्जा विस्तार गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा लगानीयोग्य रकम र तरलताको थुप्रो लागेको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रमा साढे तीन खर्बभन्दा बढी रकम थुप्रिएको छ । असार १४ सम्ममा बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्व रुपैयाँ निक्षेप संकलन भएको छ। यस्तै, ४८ खर्ब ५९ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ ।  जसअनुसार कर्जा निक्षेप अनुपात सीडी रेसियो ८३.६२ प्रतिशतमा झरेको छ ।

असार दोस्रो सातासम्ममा वाणिज्य बैंकमा ४९ खर्व ४३ अर्व रुपैयाँ निक्षेप संकलन भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ६ खर्व ५६ अर्ब निक्षेप संकलन भएको छ। निक्षेप बढ्दै जाँदा कर्जा प्रवाह भने सुस्त छ । यसबीचमा वाणिज्य बैंकहरूबाट ४३ खर्ब १ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थाबाट ५ खर्व ५८ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा असार महिनाको १४ दिनमै करिब ३१ अर्व निक्षेप थपिएको छ। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह भने निकै कम छ गत असार २ सम्ममा बैंकिङ क्षेत्रमा ५५ खर्ब ६८ अर्ब निक्षेप रहँदा ४८ अर्व ५४ अर्व रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

वाणिज्य बैंकमा मात्रै असार २ सम्ममा ४९ खर्ब ११ अर्व रुपैयाँ निक्षेप संकलन भएको थियो भने ४२ खर्ब ९८ अर्व रुपैयाँ कर्जा प्रवाह भएको थियो । यसबीचमा निक्षेप झण्डै ३२ अर्बले बढ्दा कर्जा प्रवाह भने ३ अर्बले बढेको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता पर्याप्त हुनुमा अर्थतन्त्रको सुस्तता कारण रहेको सरोकारवालाहरू बताउँछन् । बजारबाट कर्जाको माग हुनका लागि केही समय पर्खनुपर्ने सरोकारवालाको भनाइ छ ।

असार कर्जा असुलीको महिना भएकाले बैंकहरूले असुलीमा नै ध्यान दिएका छन्, जसका कारण पनि कर्जा लगानी सुस्त भएको छ । यो समाचार कारोबार दैनिकमा छ ।