दुर्गा प्रसाईं २८ लाख रूपैयाँ धरौटी बुझाएर ११९ दिनमा जेलमुक्त

राजावादीले १५ चैतमा काठमाडौं तीनकुनेमा गराएको घटनाका कमान्डर दुर्गा प्रसाईं ११९ दिनमा जेलमुक्त भएका छन् । घटनापछि भागेर भारत पुगेका प्रसाईंलाई प्रहरीले २६ चैतमा पक्राउ गरी थुनामा राखेको थियो । तीनकुने घटनासँगै पछि बैंकिङ कसुरको मुद्दा पनि खेपेका उनलाई सोमबार एकैदिन पाटन उच्च अदालतको छुट्टाछुट्टै इजलासले धरौटीमा छाड्न आदेश दिएपछि २८ लाख बुझाएर घर फर्किएका हुन् । 

प्रसाईंसँग तीनकुने घटनामा राज्यविरुद्धको कसुरमा तीन लाख र बैंकिङ कसुरमा २५ लाख धरौटी माग भएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले बैंकिङ कसुरको मुद्दामा तथा न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले राज्यविरुद्ध कसुरको मुद्दामा आदेश दिएका हुन् । 

बैंकिङ कसुरविरुद्धको मुद्दा सिधै उच्चमा चल्ने भएकाले यसबापतको धरौटी उनले आदेशलगत्तै उच्चमै बुझाए । तर, राज्यविरुद्धको कसुरको धरौटी भने जिल्ला अदालत काठमाडौंमा बुझाएका हुन् । किनभने यो मुद्दा जिल्ला हुँदै उच्चमा पुगेको हो । २९ जेठमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएपछि प्रसाईं उच्च अदालत गएका थिए । उच्चले उनलाई धरौटी बुझाएर जेलबाहिरै रहन मौका दिएको हो । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईंले रीतपूर्वक तीन लाख धरौटी बुझाएको बताए ।