आज नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ विन्दुमा बन्द

नेप्से परिसूचक आज ११.०४ अंकले घटेर १९५६.९२ विन्दुमा बन्द भएको छ । बुधबार नौ अंकले बढेको नेप्से बिहीबार घटेर बन्द भएको हो । आज एक अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । बुधबार एक अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड समूहको परिसूचक ०.२४ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक १.१७ प्रतिशत घटेको छ । घटेको बजारमा सर्वाधिक सेयर मूल्य वृद्धि बलेफी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र हिमालयन लघुवित्त वित्तीय संस्थाको भएको छ । बलेफी हाइड्रोको सेयर मूल्य ४२ रुपैयाँ ८० पैसा र हिमालयन लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँ ४० पैसाले बढेको छ ।

इस्टर्न हाइड्रोपावरको सेयर मूल्य २८ रुपैयाँ ९० पैसाले बढेको छ । यी कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । सर्वाधिक सेयर कारोबार हुनेमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छ । यो कम्पनीको चार करोड ४३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९४ प्रतिशतले घटेर प्रतिकित्ता ६४३ रुपैयाँ कायम भएको छ । कारोबारमा आएका २८० धितोपत्रका ३५ लाख ६२ हजार ६२४ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।