सभापति लामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासङ्घले निन्दा गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी ‘पत्रकार सम्मेलनमा सभापति लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो’, भनेको छ ।

‘संसद्को चौथो ठूलो दलका सभापति तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार हो, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग जोड्दार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति चिन्तासमेत व्यक्त गरिएको छ ।