चर्च ब्वाइज डेब्यू सिजनमै ए डिभिजन च्याम्पियन

काठमाडौं  - सहिद स्मारक ए डिभिजन लिगको क्लब चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ। 

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लबसँग गोलविहीन बराबरी खेलेसँगै नवप्रवेशी चर्च ब्वाइज एक खेल अगावै च्याम्पियन बन्यो।

गत वर्ष ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै चर्च ब्वाइज शीर्ष लिगमा आइपुगेको थियो। चर्च ब्वाइज ७७ सालमा ‘सी’ डिभिजनमा छनोट भएर सोही सिजन च्याम्प्यिन बनेको थियो।

त्यसपछि ‘बी’ डिभिजन च्याम्पियन हुँदै शीर्ष स्थानमा आइपुगेको चर्च ब्वाइज शीर्ष लिग जित्ने १६औं टिम बनेको छ। यसअघि २०७९ र २०७८ सालमा मछिन्द्र फुटबल क्लब लगातार दुई पटक च्याम्पियन बनेको थियो।

जारी सिजन दोस्रो स्थानको मछिन्द्र च्याम्पियन चर्च ब्वाइजभन्दा ६ अंकले पछाडि छ। यद्यपि, मछिन्द्रले दुई खेल कम खेलेको छ। तर, दुई खेल बाँकी भए पनि हेड टू हेडमा चर्च ब्वाइज च्याम्पियन बनिसकेको छ। चर्च ब्वाइजले २५ चरण सकिँदा १२ जित, ९ बराबरी र चार खेलमा पराजय भोगेको छ।

बराबरीसँगै थ्री स्टार २५ खेलबाट २९ अंक जोडेर १२औं स्थानमा छ। रेलिगेसन क्षेत्रबाट जोगिन थ्री स्टार अझै संघर्षरत छ।