नेपाल दूरसञ्चार प्राधिकरणले आज (कात्तिक २० गते) बाट करिब एक हजार फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा आईएमईआई नम्बर दर्ता नभएका महँगा फोनहरु प्राधिकरणले दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने भएको हो ।
भन्सार पास भएर आउने सबै फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउने व्यक्तिले बोक्ने र ल्याउने फोनको आईएमईआई नम्बर पनि नि:शुल्क दर्ता गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।
यसबाहेक कालोबजारीबाट भित्रिएका फोनहरु मात्रै एमडीएमएसमा दर्ता नहुने भएको भन्दै प्राधिकरणले त्यस्ता फोनमाथि प्रतिबन्ध लगाउने भएको हो । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आज ८०० भन्दा बढी ‘हाई रेन्जका–महँगा’ फोन प्रतिबन्ध गरिने बताएका छन् । “आजदेखि नियमित रुपमा एमडीएमएसमा दर्ता नभएका फोनहरुमा दूरसञ्चार सेवा अवरुद्ध गर्छाैं । हामीले टेक्नोलोजी र मूल्यअनुसार हेरिरहेका छौँ । आज हाई रेन्जका ८०० भन्दा बढी फोन ब्लक हुन्छन् ।”
आफ्नो फोन एमडीएमएसमा दर्ता भए/नभएको हेर्न र दर्ता गर्न यहाँबाट सकिन्छ ।