वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा गएराति निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ ।
उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै निधनपछि आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । त्यही भएर उहाँको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ । वरिष्ठ पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।
२०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले २०५६ सालदेखि रेडियो सगरमाथामा कुरोकन्थो कार्यक्रम चलाउनुहुन्थ्यो । त्यस्तै रेडियो सगरमाथामा लामो समयसम्म ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला पनि सञ्चालन गर्नुभएको थियो । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमचुनावमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बन्नुभएको थियो ।
वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गर्नुभएको थियो ।
रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । रिसालले ९७औँ जन्मदिनका अवसरमा गएको साउनमा ‘भैरव रिसालका छानिएका रचना– २’ तथा ‘बितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति सार्वजनिक गर्नुभएको थियो ।