रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवलाई ३ लाख घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएका छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले यादवलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बाट नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
उनका अनुसार यादवले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ गणेश ट्रेडिङ्गका संचालक विपिन कुमार पाण्डेयलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ लिन लगाएका थिए । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले पाण्डेयलाई पनि नियन्त्रणमा लिएको छ ।
योजनाहरूको निर्माणपछि भुक्तानी सिफारिसका क्रममा वडा अध्यक्ष यादवले सेवाग्राहीसँग घुस मागेको र सो रकम पाण्डेयमार्फत लिएको खख्तियारले जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।