जनकपुरधामका मेयर साह महामुर्ख घोषित

जनकपुरधाम - महामुर्ख २०७९ सालको उपाधि जनकपुरधामका मेयर मनोज कुमार साहलाई प्रदान गरिएको छ ।

जनकपुरधामको मिथिला नाट्य कला परिषद मिनापले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामुर्ख सम्मेलनको क्रममा यस वर्षको महामुर्खको उपाधि मेयर साहलाई प्रदान गरेको हो ।

कांग्रेसमा आवद्व उनले मेयरको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्र लडेर जितेको र जनकपुरधाम नगरको फोहर, लामखुट्टे जस्ता समस्या समाधानको जोखिमको बोझ बोकेको भन्दै उनलाई सो सम्मान दिइएको आयोजक मिनापले जनाएको छ ।

उनलाई उल्लु स्वरुपको टोपी र परवलको माला लगाएर सम्मान पत्र र दोसल्ला ओढाएर मधेश प्रदेशका उद्योग, पर्यटन वत तथा वातावरण मन्त्री सुनिता यादवले सम्मान गरेकी छिन् । मिथिलाको संस्कृती, संस्कार र सभ्यताको जोडा नरहेको बताउँदै मेयर साहले होलीको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका १३ जनालाई विभिन्न शिर्षकको मुर्खको उपाधिले सम्मानित गरिएको छ ।  पत्रकार श्रृषि धमलालाई पटमुर्ख , पुर्व डिई रत्नेश्वर लाल कर्णलाई डपौर शंख, महोतरी मठिहानीका मेयर हरिप्रसाद मण्डललाई बैशाखानन्दन, नेतृ विभा ठाकुरलाई गणपसारि उपाधिले  सम्मान गरियो  ।

यस्तै,  वनका कर्मचारी लालबाबु यादवलाई हराशंख, अधिवक्ता रेखा झालाई सिलौट शंकर, याज्ञवल्क्य विद्यालयका प्रअ संजय कुमार झालाई खपसुरता, खेलाडी अरुणलाललाई बज्रशंख, व्यवसायी बलराम साहलाई ब्रजशंख, पत्रकार विरेन्द्र रमणलाई सोटाचन्थ, कवित्री किरण झा रश्मीलाई टुनमुसरी, र मोनाष्टिक स्कुलका सञ्चालक डा. सोनु साहलाई बज्रकिट उपाधि दिइयो  ।