सर्वोत्तम सिमेन्टको आईपीओ ५५ हजार ५२१ जनाले पाए

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले प्राप्त गरेका छन् । यीमध्ये २६ जनाले थप एक कित्ता सेयर प्राप्त गरेका छन् । ५० कित्ताभन्दा बढी आवेदन दिएका २६ लगानीकर्ताले गोलाप्रथाबाट थप एक कित्ता पाएका हुन् ।

कुल नौ लाख ६० हजार ३०१ जनाबाट पाँच करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका निम्ति आवेदन परेको क्यापिटलले जानकारी गराएको छ । तीमध्ये नौ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको थियो । एक हजार ३४२ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । आवेदन स्वीकृत भएका मध्ये नौ लाख तीन हजार ४३८ जनाको हात खाली भएको छ ।