ह्वाइट हाउसका ती दिनहरू

अमेरिकाका राष्ट्रपतिको अफिसियल फोटोग्राफरका रूपमा पिट साैजाले ओबामासँगै ह्वाइट हाउसमा आठ वर्ष बिताए ।

जब ओबामाको राष्ट्रपतीय कार्यकालसँगै उनी पनि घर फिरे, लामो समयसम्म उनले रित्तो महसुस गरिरहे । त्यही रित्तोपना भर्नका लागि उनकी पत्नीले सुझाइन्, ‘तिमीसँग त्यत्रा तस्बिर छन्, तिनको सदुपयोग किन गर्दैनौ ?’

त्यसपछि उनले आफूसँग भएका छानिएका तस्बिरहरू इन्स्टाग्राममा केही वर्षदेखि पोस्ट गरिरहेका थिए । ती तस्बिर यति लोकप्रिय भए कि उनलाई एउटा प्रकाशन गृहले तस्बिरकथा प्रकाशनका लागि प्रस्ताव राखे । पछि उनको ‘सेड’ नामक पुस्तक मात्र प्रकाशित भएन, पिट साैजामाथि एमएसएनबिसी टेलिभिजनले एउटा डकुमेन्ट्री बनायो, ‘द वे आइ सी इट’ ।

शनिबारकाे कला दिनलाई कलात्मक बनाउन  हामी तिनै फोटोग्राफरले ह्वाइट हाउसमा छँदा खिचेका तस्बिरहरूको आश्वाद लिनेछाैँ । यसले ह्वाइटहाउसभित्र राष्ट्रपति अमेरिकाकाे शासन मात्र गर्दैनन्, उनका निजी जीवनका फरक फरक शैलीकाे पनि संकेत  गर्छ ।