विपद् व्यवस्थापनको पूर्वतयारीमा जु्ट्न प्रधानमन्त्रीक‍ो निर्देशन

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

मंगलबार बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्त कुंवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै विपद्  व्यवस्थापनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्रीले उद्दार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार रातिदेखि निरन्तर वर्षाका कारण देशका अधिकांश स्थान डुबानमा परेका छन् । बाढी र पहिरोमा परी मानवीय क्षति पुगेको छ भने कयौं परिवार विस्थापित भएका छन् ।