हिमालयन रिइन्स्योरेन्सले मंसिर २७ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

हिमालयन रिइन्सुरेन्स लिमिटेडले सर्वसाधारणलाई मंसिर २७ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्न लागेको हो । हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसअनुसार कम्पनीले यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ । सोमध्ये, २ प्रतिशत अर्थात, ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात, १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई आइपीओ जारी गर्न लागिएको हो ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सकिनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।