बचतकर्ताको रकम हिनामिना गरी फरार सहकारी अध्यक्ष पक्राउ

काठमाडौँको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका डोटी घर भएका ३१ वर्षीय हर्कबहादुर कठायत रहेका छन् । उनीसँगै सहकारीको सदस्य रहेका विनोद कुमार ओझा पनि पक्राउ परेका छन् । ३५ वर्षीय ओझा भने काभ्रे निवासी हुन् । 

जोरपाटी र भक्तपुर जिल्ला भित्रका सहकारीका शाखा कार्यालयहरूका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको आरोप छ । निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकम पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएको केन्द्रीय अनुसन्धान ब्यूरोको भनाई छ ।