कालिकोटको पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कालिकोटको पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भएको छ । थोपा सिंचाइ आयोजना निर्माणमा उपभोक्ता समितिमार्फत अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले पलाँता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा, सव–इन्जिनियर माधवकुमार भट्ट, वडा नं ८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम, वडा सचिव जानकीकुमारी शाहीविरुद्ध पनि मुद्दा दायर गरेको छ । मुलखोला थोपा सिंचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

प्रतिवादीहरूले सिंचाइ आयोजना उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौताअनुसार काम नगरेको, गलत प्रतिवेदन बनाएको, वास्तविक लागतभन्दा बढी उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारले दाबी गरेको छ । अख्तियारले सबै प्रतिवादीलाई १३ लाख ७४ हजार बिगो कायम गरी सोही रकम बराबरको जरिवाना र सजायको मागदाबी गरेको छ ।