काठमाडौँ महानगरपालिकाले अब सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्ने

काठमाडौँ महानगरपालिकाले तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ । नियमन क्षेत्राधिकार अन्तर्गतका प्रतिनिधिहरूलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषय समेत अवगत गराउने कामपाको तयारी रहेको छ । कामपाको क्षेत्राधिकारभित्र सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण तथा शैक्षिक संस्थाहरू, सहकारी संस्थाहरू र स्वास्थ्य सेवा प्रदायकहरू छन् ।

कामपाका सूचना अधिकारी वसन्त आचार्यले २०८० सालमा कामपाले जारी गरेको ‘सञ्चार तथा सूचना ऐन’ को परिच्छेद ८ मा ‘सूचनाको हक कार्यान्वयन गराउने व्यवस्था’ भएको जानकारी दिए । यसमा सार्वजनिक महत्वका सूचनाको हकको प्रचलन, संरक्षण संवर्द्धन, स्वतः प्रकाशन, प्रसारण तथा प्रवाहलाई कामपाको दायित्वका रूपमा राखिएको उनको भनाइ छ ।

ऐनले विभाग र वडाका प्रमुख वा त्यसपछिको जिम्मेवारीमा रहने अधिकारीलाई सहायक सूचना अधिकारीका रूपमा तोकेको छ । नियमन क्षेत्राधिकारभित्र रहेका सङ्घसंस्थामा सूचना अधिकारी तोक्न लगाउने व्यवस्था गरेको उनले बताए । कामपाको सहप्रवक्ता दीपक अधिकारीले, महानगरपालिकाले प्रणालीमार्फत आफूले दिनुपर्ने सूचना नियमित दिएको, आम सञ्चारमाध्यममा स्वतः प्रकाशन प्रसारण गर्ने गरिएको स्पष्ट पारे ।

सूचना माग गर्ने र प्राप्त गर्ने नागरिकको अधिकारलाई संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सार्वजनिक निकायका व्यक्तिगत वा सार्वजनिक सरोकारका विषयमा नागरिकले सूचना माग गर्न सक्छन् ।