लुटपाट आरोपमा नेपाल प्रहरीका जवानसहित तीन जना पक्राउ

ललितपुरमा लुटपाट गरेको आरोपमा प्रहरी जवानसहित तीन जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका-१४ सातदोबाटो कृषि केन्द्र नजिकैको एकान्त स्थानबाट एक व्यक्तिमाथि लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

साउन २९ गते दिउँसो एक व्यक्तिबाट दुई वटा आइफोन १५, दुई वटा सामसुङको फोन, एउटा एप्पलको ल्यापटप, एउटा गेम बक्स, दुईवटा दुई तोलाको सुनको सिक्री लुटपाट भएको थियो।

लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले खोटाङ घर भई कपन बस्ने ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछाप घर भई बुढानिलकण्ठ बस्ने २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल र बालाजु बस्ने ३२ वर्षीय डम्मलाल उपाध्याय छन्। उपाध्याय नेपाल प्रहरीका प्रहरी जवान हुन्। उनी महाराजगन्जमा कार्यरत थिए। यस घटनामा थप एक जना संलग्न रहेको र ती व्‍यक्ति फरार छन्।  घटनाबारे प्रहरी वृत्त सातदोबाटोले थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले उनीहरूबाट दुई वटा मोटरसाइकल बरामद गरेको छ।