विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी

विराट कोहली र केएल राहुलको धैर्यपूर्ण ब्याटिङप्रेरित भारतले आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाविरुद्ध ६ विकेटले विजय भएको छ । आइतबार चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा विराट र राहुलको जोडी जम्दा अस्ट्रेलियाले प्रस्तुत गरेको २०० रनको लक्ष्य भारतले ४२.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । 

भारतबाट पाँचौँ नम्बरमा ब्याटिङका लागि आएका राहुलले अविजित ९७ रन बनाए । उनले ११५ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । यस्तै, विराटले ११६ बलमा ६ चौकासहित ८५ रन बनाए । स्कोरबोर्ड २–३ को नाजुक अवस्था रहँदा यी दुईले चौथो विकेटका लागि १६५ रनको साझेदारी गर्दै भारतलाई जितउन्मुख गराएका थिए । 

हार्दिक पन्ड्या १५ रनमा अविजित रहे । भारतका कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस ऐयर शून्यमा पभेलियन फर्किएका थिए ।  अस्ट्रेलियाका जस हेजलउडले तीन विकेट लिए । मिचेल स्टार्कले एक विकेट हात पारे । टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो ।

अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । यो संस्करणमा १० टिमको सहभागिता छ । योपटक भारत, अस्ट्रेलियासँगै इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दै छन् ।