आज नेप्सेको सुचकसँगै कारोबार पनि घट्यो

नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको दोस्रो कारोबार दिन पनि सेयर बजार परिसुचक नेप्से  घटेको छ । आइतबार ३६ अंकले घटेको नेप्से सुचक सोमबार १२.५८ अंकले घटेर १ हजार ९ सय ८.६६ विन्दु कायम भएको छ ।

पछिल्लो पटक सेयर बजारमा गिरावट आउन’मा सेयर कर्जाको सीमालाई कारकतत्वका रुपमा हेरिएपनि सेयर कर्जाको सीमालाई बढाइएपनि त्यसको सकारात्मक प्रभाव बजारमा नदेखिएको हो । केन्द्रिय बैंकले बिहीबार सेयर कर्जाको सीमा बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड कायम गरेको छ । यसअघि यस्तो सीमा १२ करोड रुपैयाँ थियो । 

सेयर लगानीकर्ताका नेताहरुले सेयर कर्जामा सीमा लगाउन नहुने माग राख्दै आएका थिए । लगानीकर्ताको माग अनुसार सेयर कर्जाको सीमा नहटेको भन्दै लगानीकर्ताले राष्ट्र बैंक र गर्भनरको विरोध समेत जनाउँदै आएका छन् । जसको प्रभाव बजारमा देखिएको हो ।

आज सुचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २८७ कम्पनीको १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको सेयर कारोबार भएको थियो ।  आइतबार बजारमा १ अर्ब ८० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो । त्यसैगरी सोमबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्यमा गिरावट र १० वटाको सेयर मूल्य स्थिर छ ।