यू–१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित

यू–१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित भएको छ । शुक्रबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपालले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा अजनान अवाईसले ५६ रन बनाए । यस्तै, कप्तान साद बाइगले ५६ बलमा पाँच चौकासहित ५० रन थपे । २३–२ को अवस्थाबाट यी दुईले तेस्रो विकेटलाई १०८ रनको साझेदारी गर्दै पाकिस्तानलाई सहज जितउन्मुख गराएका थिए ।

मोहम्मद जिसानले आठ बलमा दुई चौका र छक्कासहित अविजित २० र साहजैब खानले १५ रन थपे । नेपालका गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको थियो ।

नेपाली टिमको खातामा उत्तम मगरले ५१ रन थपे । दबाबपूर्ण अवस्थामा सुझबुझपूर्ण ब्याटिङ गरेका उनले ७६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । ४६–६ को नाजुक अवस्थामा उत्तमले छैटौँ विकेटका लागि दीपेश कँडेलसँग ६८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । दीपेशले ३१ रन बनाए । ओपनर अर्जुन कुमालले २१ रन बनाउनुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

पाकिस्तानविरुद्ध नेपाली कप्तान देव खनाल १३ बलमा रनको खाता नखोली आउट भए । सिनियर टोलीका गुल्सन झाले पनि टिमको खातामा एक रनमात्र थपे । नेपाललाई सस्तैमा रोक्न पाकिस्तानमा मोहम्मद जिसानले ६ विकेट लिए । ९.२ ओभर बलिङ गरेका उनले एक मेडनसहित १९ रनमात्र खर्चिए । अमिर हसनले दुई विकेट लिँदा अली असफान्ड र उबैद साहले समान एक विकेट लिए ।