'दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्दछ' : अध्यक्ष ओली

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्ने बताएका छन् ।

आदिवासी जनजाति दिवसको अवसरमा आयोजित हुम्लाका युवाको सांस्कृतिक कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै उनले दुर्गम ठाउँको विकासमा सरकार नलागी नहुने बताए । ‘सरकार नलागी दुर्गम ठाउँको समग्र विकास गर्न सकिँदैन । शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, जडीबुटी उत्पादन, प्रशोधनजस्ता कुराको विकास गर्नका लागि सरकार चाहिन्छ’, उनले भने ।

उनले सरकारलाई दुर्गम जिल्लाको विकास गर्न ध्यानाकर्षणसमेत गराएका छन् । अध्यक्ष ओलीले हुम्लाको दुर्गमता र अप्ठेरो जिन्दगी आफूले देखेको भन्दै भने, ‘त्यस जिन्दगीलाई सहज र सुखमय जिन्दगीमा परिणत गराउनका लागि के गर्न सकिन्छ त्यस बारेमा सोच्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गरेको छु ।’