विश्व कप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित नेदरल्यान्ड्स ९९ रनले पराजित

जारी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ। सोमबार न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराउँदै जारी विश्वकपमा लगातार दोस्रो जित निकालेको हो। न्युजिल्यान्डले दिएको ३२३ रनको फराकिलो लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा अल-आउट हुँदै २३३ रनमा समेटियो। नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक ६९ रन बनाए। उनले ७३ बलमा ५ चौका प्रहार गरे।

कप्तान स्कट एडवार्ड्सले २७ बलमा २ चौका र एक छक्कासहित ३० रन बनाए। सिब्रान्ड एंगलब्रेक्टले २९, तेजा निदमनुरू २१ बास दे लिड्स १६ र विक्रमजित सिंह १२ रन बनाएर आउट भए। बलिङमा न्युजिल्यान्डका मिचेल सान्तनरले सर्वाधिक ५ विकेट लिए। म्याट हेनरीले ३ र रचिन रवीन्द्रले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पूरा ५० ओभर खेलेर ७ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो। न्युजिल्यान्डका लागि विल योङले ८० बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७० रन बनाए।  कप्तान टम लाथमले ४६ बलमा ६ चौका र एक छक्कासहित ५३ रन बनाए। ५१ बल खेलेका रचिन रवीन्द्रले ३ चौका र एक छक्कासहित ५१ रन बनाए।

डेरिल मिचेलले ४७ बलमा ५ चौका र २ चक्कासहित ४८ रनको योगदान गरे। मिचेल सान्तनरले ३६, डेभन कनवेले ३२ र म्याट हेनरीले १० रन जोडे।