चिरख्वा हाइड्रोपावरको आइपीओमा आजबाट आवेदन दिन सकिने

चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको हो । 

कम्पनीले स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरमा आवेदन नपरेकोसहित सर्वसाधारणका लागि बिक्री सुरु गरेको हो । यसअघि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दालाई चार लाख कित्ता निष्कासन गरेको थियो । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८० हजार कित्ता, कर्मचारीका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूलाई ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८० पैसा कायम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८१–८२ सम्ममा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसा हुने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ११ पैसा हुने प्रक्षेपण छ ।