नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

काठमाडाैं - चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड रुपैयाँ बाह्य ऋण र नौ खर्ब ६८ अर्ब एक करोड रूपैयाँ आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा ५७ अर्ब २४ करोड रुपैयाँ ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ र आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो । चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा १९ अर्ब ४३ करोड रुपैयाँले घटेको छ ।