स्वास्थ्य बीमा कार्यक्रम देशभरका अस्पतालमा बिहानैदेखि अवरुद्ध 

 काठमाडौँ - स्वास्थ्य बीमा कार्यक्रम लागू भएका देशभरका अस्पतालमा बिहानैदेखि सेवा अवरुद्ध भएको छ ।

केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी शम्भुप्रसाद ज्ञवालीले बिहानैबाट सर्भरमा समस्या आएको जानकारी दिए । प्राविधिकहरु काममा खटिइसकेको केही समयमा समस्या समाधान हुने उनको भनाई छ ।

स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकाले अस्पतालहरुमा बिहानैदेखि सेवाग्राहीको भीड बढिरहेको छ । अस्पतालहरुले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन् । जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् ।