‘खटप्वाल’ र ‘बेग्लै आकाश’ लोकार्पण गर्दै पेज टर्नरले मनायो पहिलो वार्षिकोत्सव

काठमाडौँ - पुस्तक प्रकाशनको बजारमा गुणस्तरीय परिणाम दिने उद्देश्यले गत वर्षदेखि सञ्चालनमा आएको पेज टर्नर प्रा.लि.ले आफ्नो स्थापनाको पहिलो उत्सव भव्यताका साथ मनाएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा स्रष्टा प्रमोद प्याकुरेलको खटप्वाल उपन्यास र कवि तथा गजलकार घनेन्द्र ओझाद्वारा लिखित १४ जना अग्रज स्रष्टाहरूको जीवनी समेटिएको पुस्तक बेग्लै आकाश सार्वजनिकसँगै वार्षिकोत्सव मनाइएको हो ।


कार्यक्रममा कृति लोकार्पणसँगै पेज टर्नरले सञ्चालनमा ल्याएको साहित्यिक अनलाइन पत्रिका निरूपण डट कम र अंग्रेजी बालपत्रिका ट्युब लाइन डट कम पनि औपचारिकरूपमा सार्वजनिक गरिएको थियो । स्थापनाको छोटो समयमा आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशनसँगै दुई अनलाइन पत्रिका सञ्चालनमा ल्याएको हुँदा कम्पनीले साहित्यिक जगतमा गुणस्तरीय कर्म गर्ने सन्देश दिएको कार्यक्रमकी प्रमुख अतिथि समालोचक रमा शर्माले बताइन् ।


यसैगरी, कार्यक्रममा ‘खटप्वाल’माथि त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापकसमेत रहेका कथाकार डा. अशोक थापा र ‘बेग्लै आकाश’माथि साहित्यकार तथा समालोचक महेश पौड्यालले समीक्षा गरेका थिए । ‘खटप्वाल’माथि समीक्षा राख्दै थापाले भने, ‘लेखक प्याकुरेलले काठमाडौं वरिपरिको विषयवस्तुलाई अति नै सुक्ष्म र मिहिन ढंगबाट उठान गरेका छन् । उपन्यासमा मानवीय संवेदनाका सुक्ष्मभन्दा सुक्ष्म विषयलाई सरल ढंगले उठाएर समाज परिवर्तनमा नयाँ चेतनाको आवाज बोलेको पनि उनले बताए ।


यस्तै, १४ जना देशका मुर्धन्य व्यक्तिहरूको जीवनी समेटिएको बेग्लै आकाशका विषयमा बोल्दै समालोचक पौड्यालले लेखक ओझाले निकै मिहिनेतका साथ अग्रजहरूको जीवनलाई उतार्ने प्रयास गरेको बताए । उक्त पुस्तकमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअर्थ मन्त्री शंकरप्रसाद कोइराला अर्थात् एसपी कोइराला, पूर्वमुख्य सचिव डा. विमल कोइराला, पूर्वमुख्य सचिव भोजराज घिमिरे, पूर्वसह–सचिव तथा नियात्राकार प्रतीक ढकाल, प्रा.डा. कृष्णहरि बराल, गीतकार तथा चलचित्र निर्माण यादव खरेल, संगीतकार शक्ति बल्लभ, डा. रामप्रसाद ज्ञवाली, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ लगायतको जीवनी समेटिएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष भरत पौडेलले हालसम्म भए गरेका गतिविधिहरूको जानकारी सहित आगामी योजनाका विषयमा प्रकाश पारेका थिए । पछिल्लो एक वर्षको अवधिमा करिब आधा दर्शन कृति प्रकाशन गरी बजारमा बलियो उपस्थिति जनाएको कम्पनीले आगामी दिनमा गुणस्तरीय प्रकाशनमा ध्यान दिने उनले बताए ।


युवा उपन्यासकार तर्कना शर्माले सञ्चालन गरेको कार्यक्रममा निरुपण डट कमको सम्पादकको भूमिका पत्रकार लक्ष्मण वियोगीलाई दिइएको जानकारी गराइएको थियो । यस अनलाइन पत्रिकामा वियोगी सहित युवा कवि महेश कार्की ‘क्षितिज’ पनि सह–सम्पादकको भूमिकामा जोडिएका छन् । साथै, पत्रिकालाई थप गुणस्तरीय बनाउँदै लैजान अग्रज तथा जेष्ठ साहित्यकारहरूको अलग्गै सम्पादकीय समूह गठन गर्ने कम्पनीको योजना रहेको छ ।


कम्पनीका अनुसार पेज टर्नरमा लेखकका रूपमा वरिष्ठ साहित्यकार भुवनहरि सिग्देल, भोजराज घिमिरे, प्रतीक ढकाल, भवानी खतिवडा लगायत एक दर्जन स्रष्टाहरूलाई अनुबन्ध गरिएको छ । साहित्य तथा शैक्षिक क्षेत्रका गुणस्तरीय पुस्तकहरू प्रकाशन गर्दै अनलाइन पत्रिकालाई समेत पाठकको रोजाइका रूपमा सञ्चालन गर्दै लैजाने योजना रहेको अध्यक्ष पौडेलले बताएका थिए ।
कम्पनीले अहिलेसम्म मेची पारिका स्रष्टा राजेन्द्र भण्डारी र मनप्रसाद सुब्बाका प्रतिनिधि कविता, डा. थापाको कथाकृति सन्तापको धून, डा. सुदीप अर्यालको उपन्यास क्रान्ति लगायत पुस्तक प्रकाशन गरिसकेको छ । साथै, आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशनको तयारीमा रहेको जनाइएको छ ।