राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालनको काममा सघाउन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ । एसईईको उत्तरपुस्तिका जाँच नगर्दा परीक्षा दिएर बसेका विद्यार्थीको नतिजा प्राप्तिपछि पाउने अवसरमा प्रत्यक्ष असर पर्ने भएकाले उत्तरपुस्तिका परीक्षणमा सघाउन बोर्डले आग्रह गरेको हो ।
चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले माग पूरा नभएमा एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने बताएका छन् ।बोर्डले उत्तरपुस्तिका परीक्षणसँगै परीक्षा सञ्चालन व्यवस्थापनमा पनि शिक्षकहरूकै भूमिका महत्त्वपूर्ण हुने स्मरण गराएको छ ।
शिक्षकहरूको पेशागत बढोत्तरी, पेसागत सुरक्षा तथा विद्यार्थीका आवश्यकता र अवसर दुवै प्राथमिक र संवेदनशील पक्ष भएको भन्दै बोर्डले आफ्ना माग तथा अपिलसँगै विद्यार्थीको भविष्यलाई समेत दृष्टिगत गरी आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । तर शिक्षकहरुले माग पूरा नभएसम्म आन्दोलन कायमै रहने अडान लिएका छन् । उनीहरुले विगतको सहमति कार्यान्वयनसँगै शिक्षा ऐन जारी हुनुपर्ने माग गरेका छन् ।