४० करोड भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर

भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियारले तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको भनी पौडेलसहित ३ जनाविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

अख्तियारले पौडेल सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल विरुद्ध पनि मुद्दा दायर गरेको हो । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे अनि सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेन विरुद्ध पनि मुद्दा चलाएको हो ।

सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध केही साताअघि मात्रै दोस्रो मुद्दा दायर भएको थियो ।

आइतबार मात्रै विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । पौडेलमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ । केही वर्षदेखि योजना छनोटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन भइरहेको थियो ।