विशेष अदालतले यातायात व्यवस्था कार्यालय, सुकेधाराका तत्कालीन प्रमुख एवं उपसचिव सुन्दर भट्टराईलाई गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भट्टराईलाई गैरकानूनी सम्पत्ति जोडेकोमा दोषी ठहर गरेको हो ।
विशेष अदालतले उनलाई ३ महिना कैद हुने फैसला गरेको छ । भट्टराईले १४ लाख ७४ हजार गैरकानूनी आर्जन गरेको ठहर गरेको हो । अख्तियारले यसअघि नै उनीमाथि गैरकानूनी रूपमा लाइसेन्स जारी गरेको आरोप लगाएको थियो ।
विशेष अदालतले भट्टराईको १४ लाख ७४ हजार रुपैयाँ जफत गरी थप त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । अख्तियारले भने उनीमाथि एक करोड १५ लाख गैरकानूनी आर्जन गरेको आरोप लगाएको थियो । भट्टराईले २ करोड ६६ लाख रुपैयाँमात्रै आर्जन गरेकोमा २ करोड ८१ लाख रुपैयाँको स्रोत देखिएको विशेषको रायकिताबमा उल्लेख छ ।