एमालेद्वारा कात्तिकसम्म सबै कमिटीलाई लेखा परीक्षण गराउन निर्देशन

काठमाडौँ - नेकपा (एमाले)ले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय लेखा आयोगले पार्टी मातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९/८० सम्मको लेखा परीक्षण आयोगमार्फत आगामी कात्तिक मसान्तसम्ममा अनिवार्यरूपमा गराउन निर्देशन दिएको आयोगका अध्यक्ष डा पुष्प कँडेलले जानकारी दिए ।

उनका अनुसार पार्टी कमिटीले आर्थिक हिसाबको लेखा व्यवस्थित गराई वित्तीय विवरण तयार गरी कमिटीबाट पारित र आयोगमार्फत अनिवार्यरूपमा लेखापरीक्षण गराउन निर्देशन दिइएको छ । प्रदेश तहका कमिटीको लेखापरीक्षण सम्पन्न गरी प्रदेश अधिवेशनमा आयोगको तर्फबाट प्रतिवेदन पेश गर्न र जनसङ्गठनले अनिवार्यरूपमा लेखा आयोगले निर्धारण गरेको ढाँचामा लेखा राख्न भनिएको छ ।