माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आवेदन खुल्यो

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । आयोगले भदौ २३ गतेसम्म एक हजार रुपैयाँ नियमित दस्तुरमा र ३० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने गरी फाराम खुलाएको हो ।

शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ ।

आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिन अनुरोध गरेको छ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् तोकिएका कागजातहरू पेश गरेपछि परिवर्तन नगर्न आयोगले सुझाव दिएको छ ।