पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा. कुमार चुडालको इजलासले कारण देखाऊ आदेश भने जारी गरेको छ ।

यही भदौ २० गते पर्यटन बोर्डको कार्यकारी समितिको निर्णयअनुसार, सीईओमा दीपकराज जोशी नियुक्त भएका थिए । दोस्रो नम्बरमा रहेका जोशीको नियुक्ति कानुनविपरीत भएको दाबीसहित सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

रेग्मीले परीक्षा लिइसकेपछि दोस्रो व्यक्तिलाई नियुक्त गर्न नमिल्ने दाबी गर्दै पहिलो नम्बरमा रहेका व्यक्तिलाई नियुक्त गर्न अन्तरिम आदेशको माग गरेका थिए । उनले दोस्रो वरीयताका व्यक्तिालाई नियुक्तिका लागि बोर्डले अंक लुकाएको भन्दै ‘नियुक्ति बदर’को माग गरेका थिए । प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेको उनको दाबी थियो । उनले अंक झिकाउन आदेश पनि माग गरेका थिए ।