आज साँझदेखि तीन दिन पश्चिमकेन्द्रित भीषण वर्षाको सम्भावना

भारतको मध्यप्रदेश क्षेत्रमा विकसित भएको न्यूनचापीय रेखा (हावाको चाप कम भएको क्षेत्र)का कारण पश्चिम नेपालकेन्द्रित भीषण वर्षाको प्रक्षेपण गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझदेखि शनिबारसम्म तीन दिन गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा धेरै वर्षा हुने अनुमान गरिएको हो । त्यसमा पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अत्यधिक वर्षा हुने चेतावनी दिँदै बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम र सुर्खेत बाढीपहिरोको उच्च जोखिममा रहने भन्दै सचेत गराएको छ । 

महाशाखाकी मौसमविद् शान्ति कँडेलले उत्तर–पश्चिम (नेपालनजिक) सरिरहेको न्यूनचापीय रेखाको असर बिहीबार साँझदेखि शनिबार बिहानसम्म नेपालमा देखिने बताइन् । ‘हल्कादेखि मध्यम वर्षा त देशभर नै हुन्छ, तर न्यूनचापीय रेखा विकसित भएको क्षेत्र पश्चिम नेपालनजिक भएकाले लुम्बिनी र सुदूरपश्चिममा अत्यधिकसम्म वर्षा हुने देखिन्छ,’ उनले भनिन् ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार यो अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा हुनेछ । अन्य प्रदेशमा भने केही क्षेत्रमा हल्कादेखि मध्यम र एक–दुई ठाउँमा भीषण वर्षा हुन सक्छ । तर, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मुसलधारेदेखि भीषण वर्षाको सम्भावना छ । सुदूरपश्चिमका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको चेतावनी दिइएको छ ।