धनकुटाको सहिदभूमि गाउँपालिकाबाट २८७ किलो गाँजासहित २५ वर्षीय युवक पक्राउ

धनकुटाको सहिदभूमि गाउँपालिकाबाट गाँजा बोकेको पिकअप भ्यानसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। आँखीसल्ला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान २८७ किलो गाँजासहित स्थानीय २५ वर्षीय मेखराज राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले बताए।

सहिदभूमि गाउँपालिका–४ खोकुका मेखराज राईले चलाएको को १ च ९२९० नम्बरको पिकअपमा चेकजाँच गर्ने क्रममा २५ वटा बोरामा प्याक गरिएको २८७ किलो लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले बताएको छ।

लागुऔषध गाँजा बोकेको पिकअपसहित गाडीचालक राईलाई नियन्त्रणमा लिई लागुऔषधअन्तर्गतको मुद्दा आजै जिल्ला अदालतमा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको डिएसपी महर्जनले जानकारी दिए। सहिदभूमि जिल्लाको गाँजा उत्पादन हुने मुख्य क्षेत्रको रूपमा चिनिँदै आएको छ। हरेक वर्ष प्रहरीले गाउँगाउँ गएर गाँजा खेती नष्ट गर्दै आएको भए पनि पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन।