भ्रष्टाचार मुद्दामा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित दुईजना दोषी ठहर

भ्रष्टाचार मुद्दामा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित दुईजना दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल र उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावललाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले मल्ललाई दुई वर्ष ६ महिना कैद र रावललाई एक वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

यसैगरी मल्ललाई १९ लाख २३ हजार ७५० रुपैयाँ बिगो कायम गरी त्यति नै जरिबाना हुने फैसला भएको छ । रावललाई पनि १९ लाख २३ हजार ७५० बिगो कायम गरी त्यति नै जरिबाना हुने फैसला भएको छ । यसै प्रकरणमा मुछिएका अन्य पाँच जनाले भने सफाइ पाएका छन् । सफाइन पाउनेमा महेशसिंह कठायत, रुनबहादुर सेजुवाल, केशरबहादुर रावल, हस्तबहादुर मल्ल र वसन्ती रावल रहेका छन् ।

उनीहरूमाथि नगरपालिकाको वडा नम्बर २ मा पार्क निर्माणका लागि सार्वजनिक खरिद नियमावली विपरीत कुल लागतको ५० प्रतिशत पेस्कीसमेत उपलब्ध गराएर ३८ लाख ४७ हजार ५०० रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो ।